काठमाडौं, साउन १८ — नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेको छ।
अख्तियारका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसस्वरूप एक लाख रुपैयाँ लिइरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा परेका हुन्। उनीसँग घुस रकमसहित स्रोत नखुलेको थप ५ हजार रुपैयाँ समेत बरामद भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।