काठमाडौं । चलचित्र ‘महाराजधिराजका लागि अभिनेता पुष्प खड्काले आफ्नो शरीरमा ठूलो परिवर्तन गरेका छन्। चलचित्रका लागि तयार गरिएको उनको सिक्स प्याक बडीसहितको तस्वीर सार्वजनिक भएको छ।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले तस्वीर सार्वजनिक गर्दै पुष्पले भूमिकाका लागि निकै मेहनत र त्याग गरेको बताएका छन्। उनका अनुसार पुष्पले चलचित्रमा अनुबन्धित हुने क्रममा हात काटेर रगतको औँठाछापसमेत लगाएका थिए।
महाराजधिराजको छायांकन अहिले काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छायांकन भक्तपुर हुँदै काठमाडौं आइपुगेको हो। चलचित्रको छायांकन करिब ७० दिनको रहने बताइएको छ।
परिच्छेद सेनको निर्देशन तथा लेखनमा बन्न लागेको यो चलचित्रलाई सामाजिक पिरियड ड्रामाका रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा पुष्प खड्कासहित आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधानलगायत करिब ८० जना कलाकारको अभिनय रहनेछ।
चलचित्र छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदैछ। यसका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।