रसुवा — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदी आसपासका क्षेत्रमा कार्यरत ७ बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बुधबार बिहान बाढी आएदेखि उनीहरूसँग सम्पर्क हुन सकेको छैन। प्रभावित क्षेत्रमा टेलिफोन तथा विद्युत् सेवा अवरुद्ध हुँदा कर्मचारीको अवस्था यकिन गर्न कठिन भइरहेको छ।
सम्पर्कविहीन कर्मचारीमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माछापुच्छ्रे बैंकका ५, प्रभु बैंकका ५, एनएमबी बैंकका ४, लक्ष्मी सनराइज बैंकका ३, सानिमा बैंकका २ र हिमालयन बैंकका १ जना रहेका छन्।
बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा बैंकका शाखा तथा कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बैंकर्स संघका अनुसार विभिन्न बैंकका ९ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
तर बैंकका शाखामा रहेका लकर, भल्ट तथा नगद रकममा कति क्षति भयो भन्ने विवरण अझै यकिन हुन सकेको छैन। प्रभावित क्षेत्रमा पहुँच कठिन भएकाले पहिले कर्मचारीको अवस्था पत्ता लगाउने र त्यसपछि मात्रै भौतिक तथा वित्तीय क्षतिको विस्तृत मूल्यांकन गर्ने तयारी भइरहेको छ।
यसअघि बुधबार सार्वजनिक विवरणमा ९ बैंकका शाखा प्रभावित र करिब २६ कर्मचारी सम्पर्कविहीन रहेको बताइएको थियो। पछिल्लो विवरणमा भने ७ बैंकका २७ कर्मचारी अझै सम्पर्कबाहिर रहेको जनाइएको छ।