नुवाकोट — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाका क्रममा जीवन गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
महानिरीक्षक पौडेल नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीस्थित कुँवरको निवासमा पुगेर दिवंगत जवानप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेका हुन्
भोटेकोशी बाढीका बेला नागरिकको सुरक्षा तथा उद्धारमा खटिएका कुँवरले कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएका थिए। उनको बलिदानप्रति सम्मान व्यक्त गर्दै पौडेलले दुःखको यस घडीमा सशस्त्र प्रहरी बल परिवार शोकाकुल परिवारको साथमा रहेको बताएका छन्।
यसै क्रममा महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेट गरेका छन्। उनले आशिष पौडेलसहित बाढीमा सम्पर्कविहीन भएका सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जानकारी गराएका छन्।
विपद्को घडीमा नागरिकको ज्यान बचाउन खटिएका एक राष्ट्रसेवकको बलिदानप्रति सशस्त्र प्रहरी संगठनले उच्च सम्मान व्यक्त गरेको छ।