देवानगञ्ज घटनाको विरोधमा मोरङ प्रशासनअगाडि प्रदर्शन, सुरक्षामा कडाइ; सुनसरीमा कर्फ्यु यथावत्

समाचार

विराटनगर — सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ।

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन पुगेका प्रदर्शनकारीले विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजीसहित र्‍याली निकालेका थिए। प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय पुगेपछि सुरक्षाकर्मीले कार्यालयको मुख्य गेटअगाडि ब्यारिकेड खडा गरी उनीहरूलाई रोकेका थिए। सम्भावित अप्रिय घटना रोक्न प्रशासनले सुरक्षा व्यवस्था पनि कडा बनाएको थियो।

देवानगञ्ज घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने घाइते भएका अन्य केही व्यक्तिको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुई समुदायबीच भएको झडप नियन्त्रणका लागि सशस्त्र प्रहरीले गोली चलाएको थियो। त्यसपछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड तथा आगजनीका घटना भएका थिए।

यसैबीच, देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भड्किएको साम्प्रदायिक तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १२ गते राति ९ बजेदेखि जारी गरेको कर्फ्यु बिहीबार पनि यथावत् राखेको छ। प्रशासनले अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहने जनाएको छ। कर्फ्युका कारण प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने जनजीवन अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन।