काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका छन्।
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली चाडपर्वले देशको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताएका हुन्।
उनले तीज नेपाली महिलाको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता बढाउन योगदान पुर्याउँदै आएको बताए।
थापाका अनुसार चाडपर्व केवल उत्सव मनाउने अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमसमेत हुन्।
यस्ता सांस्कृतिक परम्पराले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको उनको भनाइ छ।
थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा तीजको शुभकामना दिँदै यस पर्वले सबैको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गरेका छन्।