जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ।
नेपाल पछिल्ला खेलमा राम्रो लयमा छ। उसले पछिल्ला पाँच टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये चारमा जित निकालेको छ भने एक खेलमा जापानसँग अंक बाँडेको थियो। श्रीलंकाले भने पछिल्ला चार खेल लगातार गुमाएको छ।
श्रीलंकाको टोलीमा अनुभवी तथा अलराउन्डर खेलाडीको बाहुल्य छ। कप्तान सहानसहित असेन ब्रान्द्रा, चमिका करुनारत्ने र थरिन्दु रत्नायकेजस्ता खेलाडी टोलीमा छन्। नेपालतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी र रोहित पौडेलजस्ता अलराउन्डर खेलाडी छन्।
नेपालले यसअघि जापानविरुद्धको खेलमा सन्दीप जोराको ५७ र लोकेश बमको ५२ रनको आक्रामक ब्याटिङमा १५ ओभरमा १४९ रन बनाएको थियो। वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाल र जापानले अंक बाँडेका थिए।
अब श्रीलंकाविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा आफ्नो क्षमता देखाउने अवसरका रूपमा रहेको छ।