कोहलपुरमा स्वास्थ्यकर्मीमाथि हातपातको भिडियो खिच्ने युट्युबर पक्राउ

समाचार

बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीमाथि महिलाले हातपात गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा युट्युबर हिमान्सु शाही पक्राउ परेका छन्।

सहारा एचडी टिभी नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भिडियो योजनाबद्ध रूपमा खिचेर सार्वजनिक गरिएको भन्दै शाहीमाथि कारबाहीको मागसमेत उठेको थियो।

स्थानीय पत्रकारका अनुसार शाही यसअघि पनि विवादित घटनाका भिडियो खिचेर सार्वजनिक गर्ने गरेको बताइएको छ। घटनामा मेडिकल सञ्चालकमाथि समेत कुटपिट भएको र त्यसको भिडियो शाहीले सामाजिक सञ्जालमा पोस्ट गरेको जनाइएको छ।
यसैबीच, घटनामा संलग्न स्वास्थ्यकर्मीमाथि पनि जबरजस्ती करणीसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।