गगन थापा पक्राउ परे कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणाको चेतावनी

राजनीति


नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
राणाले इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्न खोजिएको भन्दै सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन्।
उनले प्रहरीलाई कानुनी प्रक्रिया मिचेर नेता, व्यवसायी तथा कर्मचारी पक्राउ गर्न दबाब दिइएको दाबी समेत गरेका छन्।
राणाका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको हो। उनले सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिएको आरोप पनि लगाए।
त्यस्तै, सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उनले प्रेस स्वतन्त्रता, न्यायालयको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्ने बताएका छन्।
राणाले लोकतन्त्र र विधिको शासनको पक्षमा रहेका सबैलाई एकजुट हुन आह्वान गर्दै सरकारले सभापति थापामाथि गलत कदम चाले कांग्रेसले दृढतापूर्वक प्रतिरोध गर्ने बताएका छन्।