काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका ललितपुरका कबीर महर्जन शुक्रबार जीवितै उद्धार भएका छन्।
नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले उनलाई सुरुङबाट सकुशल बाहिर निकाली हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको हो। अहिले कबीरको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
श्रीमानलाई भेट्न अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले १० दिनसम्म उहाँ फर्किनुहुन्छ भन्ने विश्वास गर्नसमेत गाह्रो भएको बताइन्।
‘उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ ।’ उनले भनिन्।
उनका अनुसार उद्धारपछि कबीरले सुरुमा आफन्तलाई चिन्न सकेका थिएनन्। अहिले भने अलिअलि बोल्न थालेका छन्। खुट्टामा सामान्य चोट लागेको र शरीर पहेँलो देखिएकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
हीराशोभाले कबीरको जीवन बचाउन खटिएका नेपाली सेना, चिकित्सक तथा उद्धार टोलीलाई धन्यवाद दिएकी छन्।