दाङका विभिन्न वन क्षेत्रमा ११ थान भरुवा बन्दुक बरामद

समाचार

दाङका विभिन्न स्थानमा प्रहरीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजे सम्म गरेको खोजतलासका क्रममा ती बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका–७ स्थित नवशान्ती सामुदायिक वनबाट ३ थान भरुवा बन्दुक बरामद भएका छन् ।
बरामद सबै बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।