मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति गएको ५.३ म्याग्निच्युडको भूकम्पबाट लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा कम्तीमा ६७ घर तथा अन्य संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। मानवीय क्षति भने हालसम्म नभएको प्रहरीले जनाएको छ।
भूकम्पका कारण ठिङगर, फुवा, नाम्गेल र किम्लिङ क्षेत्रमा घर चर्किएका छन् भने एक कच्ची घर पूर्ण रूपमा भत्किएको छ। गुम्बा, विद्यालय भवन तथा पर्खालहरूमा समेत चिरा र क्षति देखिएको छ।
प्रहरी र स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। विकट भूगोलका कारण सबै क्षेत्रको विवरण आउन बाँकी रहेकाले क्षतिको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
- मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प, ६७ घरमा क्षति