पेट्रोलियम पदार्थको मूल्य यथावत्, १५ दिनमै निगमलाई १ अर्ब ९१ करोड घाटा

बिजनेस

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि निगमले तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको हो।

निगमका अनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ।

तर, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा स्वचालित मूल्य समायोजन नगर्दा आगामी १५ दिनमा निगमलाई करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावअनुसार नियमित रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। तर, पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै यसपटक उपभोक्तामाथि थप आर्थिक भार नपर्ने गरी मूल्य यथावत् राख्ने निर्णय गरिएको निगमले जनाएको छ।

निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार बिक्री मूल्य समायोजन नगर्दा निगमको वित्तीय दायित्व थपिनेछ। यद्यपि, विपद्को वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको हो।