बुटवल — लगातारको वर्षापछि पाल्पाका विभिन्न क्षेत्रमा पहिरो खस्दा जनजीवन प्रभावित भएको छ। रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
पहिरोमा बेपत्ता भएकी ५९ वर्षीया कृष्णकुमारी सारुको शव शनिबार साँझ फेला परेको प्रहरीले जनाएको छ। उद्धार टोलीले पहिरो गएको स्थानमा खोजी गर्दा उनको शव फेला पारेको हो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा लगिएको छ।
लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा पहिरो खस्दा यातायात प्रभावित भएको छ। तानसेन–हार्थोक–छहरा लगायतका सडकखण्डमा पनि पहिरोका कारण आवागमनमा समस्या देखिएको छ।
प्रहरी तथा स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा उद्धार र सडक खुलाउने काम जारी राखेका छन्। वर्षा निरन्तर भइरहेकाले पहिरो प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ