यूएईविरुद्ध नेपालको एक रनको रोचक जित

खेलकुद

काठमाडौं, असोज २५ – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले यूएईविरुद्ध अत्यन्त रोमाञ्चक जित हात पारेको छ।

आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई मात्र १ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनायो। जवाफमा यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।

नेपालको जीतमा ओपनर आसिफ शेखले शानदार अर्धशतक बनाउँदै टिमलाई सशक्त सुरुवात दिलाए। उनले ४७ बलमा ५१ रन बनाए भने कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रनको योगदान दिए। अन्त्यतिर गुल्शन झाले ५ बलमा १४ रन जोड्दै स्कोर उकास्न मद्दत गरे।

बलिङतर्फ यूएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान रूपमा १-१ विकेट लिए।

यूएईका लागि अलिशान शराफुले ५८ रनको उत्कृष्ट पारी खेले भने ध्रुव पराशरले ३८ रन बनाए। तर, नेपालको कसी बलिङ र टाइट फिल्डिङका कारण अन्तिममा उनीहरू लक्ष्यसम्म पुग्न असफल रहे।