काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्तिको आधार भएको बताएका छन्।
विश्व आदिवासी दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप मजबुत बनाउने बताएका हुन्।
ओलीले नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको उल्लेख गरे। उनले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिए।
उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैलाई आह्वानसमेत गरेका छन्।
“नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउनेछ,” ओलीले भने।