काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष राखिएका माग सम्बोधन नभएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनीको कामकाज बन्द गर्ने घोषणा गरेको छ।
सङ्घका अनुसार आन्दोलनका क्रममा नयाँ वैदेशिक रोजगारीको विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमसम्बन्धी काम तथा विदेश जाने श्रमिकको उडानसमेत रोक लगाइनेछ।
यद्यपि, आज राति १२ बजेसम्म आवश्यक प्रक्रिया पूरा भएका श्रमिकलाई भने उडानमा पठाइने सङ्घले जनाएको छ।
सरकारसँग मागका विषयमा ठोस सहमति नभएसम्म आन्दोलन फिर्ता नलिने सङ्घको भनाइ छ। आन्दोलनका कारण वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका हजारौँ श्रमिक प्रभावित हुन सक्ने देखिएको छ।