नेपाल–चीन सीमा बाढी : केरुङमा ठूलो क्षति, उद्धारका लागि राष्ट्रपति सीको निर्देशन

विश्व

काठमाडौं — नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोले चीनको तिब्बतस्थित केरुङ (Gyirong) बन्दरगाह क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। केही मानिस बेपत्ता भएको र जनधनमा ठूलो क्षति भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बुधबार बिहान करिब १०ः३० बजे नेपालतर्फ आएको पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रमा क्षति पुगेको चिनियाँ अधिकारीहरूले बताएका छन्। घटनापछि बन्दरगाहतर्फ जाने सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ।

घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता मानिसहरूको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न, घाइतेको तत्काल उपचार गर्न तथा थप विपद् रोक्न जोखिमको निगरानी र पूर्वसूचना प्रणाली बलियो बनाउन निर्देशन दिएका छन्।

चीनका उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित अधिकारीसहित घटनास्थलतर्फ गएको र तिब्बतमा उद्धार टोली परिचालन गरिएको चिनियाँ सरकारी स्रोतले जनाएको छ

यद्यपि, चीनतर्फ कति जनाको मृत्यु भयो वा कति जना बेपत्ता छन् भन्ने यकिन विवरण अझै सार्वजनिक भएको छैन। उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण पछि आउने अपेक्षा गरिएको छ।

यसैबीच, नेपालतर्फ रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। नेपालमा पनि सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोज तथा उद्धार जारी राखिएको छ।