बर्लिन — पश्चिमी जर्मनीमा डच सीमा नजिकै सानो विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको छ।
डच विदेश मन्त्रालयका अनुसार दुर्घटनामा ५७ र ५८ वर्षका दुई पुरुष तथा २३ वर्षीया एक महिलाको मृत्यु भएको हो। मृतकमध्ये ५८ वर्षीय पुरुष र २३ वर्षीया महिला एम्स्टर्डमका तथा ५७ वर्षीय पुरुष नेदरल्यान्ड्सको सुदवेस्ट-फ्रिस्लान क्षेत्रका रहेको बताइएको छ।
Cessna 172 विमानले नेदरल्यान्ड्सको हिलभर्समस्थित सानो विमानस्थलबाट स्थानीय समयअनुसार बिहान करिब १०ः२५ बजे उडान भरेको थियो। जर्मनीको एर्केलेन्ज क्षेत्रनजिक पुगेपछि विमान करिब ११ः१८ बजे रडारबाट सम्पर्कविहीन भएको थियो। त्यसको केही समयपछि विमान गर्डेरथ नजिकैको खेतमा दुर्घटनाग्रस्त भएको थियो।
जर्मन प्रहरीले विमानमा सवार तीनै जनाको मृत्यु भएको जनाएको छ। घटनास्थलमा प्रहरी, उद्धार टोली तथा प्राविधिक टोली परिचालन गरिएको थियो भने दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।
विमान Vliegschool Hilversum मा दर्ता गरिएको जनाइएको छ। दुर्घटनापछि उक्त संस्थाले अस्थायी रूपमा उडानहरू स्थगित गरेको छ। दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।
जर्मन र डच उड्डयन अनुसन्धान अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाबारे अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार खराब मौसमका कारण पाइलटले उडान सूचना सेवासँग सम्पर्क गरेको थियो। विमान फाइबर्गतर्फ जाँदै गरेको हुन सक्ने बताइए पनि घटनाको विस्तृत अनुसन्धान जारी छ।