चितवन । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएका मानिसको खोजी त्रिशूली र नारायणी नदी किनारमा अझै जारी छ। पछिल्लो विवरणअनुसार चितवनमा मात्रै ६४ शव फेला परेका छन्।
भेटिएका शवमध्ये केही सग्ला छन् भने केही मानव शरीरका अंगसमेत रहेको प्रहरीले जनाएको छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिँदै आएको छ।
प्रहरीका अनुसार नदीमा बाढीको बहावसँगै शवहरू त्रिशूली हुँदै नारायणी नदीसम्म बगेर आएका हुन्। त्यसैले चितवनसहित नदी किनारका विभिन्न क्षेत्रमा सुरक्षा निकायले खोजी कार्यलाई निरन्तरता दिएका छन्।
भरतपुर अस्पतालको शवगृहमा शव राख्ने ठाउँ अभाव भएपछि थप भेटिने शवलाई व्यवस्थापन गर्न वैकल्पिक स्थानको तयारीसमेत भइरहेको जनाइएको छ।
बुधबार राति ११ः०५ बजेसम्मको प्रहरी विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, गोरखामा १९, तनहुँमा ९, चितवनमा ६४ र नवलपरासी पूर्वमा २२ शव फेला परेका छन्। कुल १५७ शव फेला परेको विवरण छ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको बताइएको छ। उद्धार, खोजी तथा शव पहिचानको काम सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा जारी छ।
नदी किनारमा खोजी जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।