हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाखभन्दा बढी रकम लुटेर फरार

अपराध

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटार बस्तिपुरस्थित एसबीआई बैंक शाखामा मंगलबार राति सशस्त्र लुटपाट भएको छ। हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाखभन्दा बढी रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब राति ८:४० बजे लुटेराहरूले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटेका थिए। घटनापछि खोजतलासका क्रममा जंगलबाट १ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको छ। लुटमा प्रयोग भएको टाटा सुमो जीप र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

लुटेराहरू कम्तीमा ६ जना भएको अनुमान गरिएको छ। घटनामा घाइते भएका सुरक्षा गार्डको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। लुटेराहरूको तीव्र खोजी तथा अनुसन्धान जारी छ।