काठमाडौँ। काठमाडौँ जिल्लामा निर्वाचन सुरक्षामा खटाइने प्रहरीमध्ये ६ जनाले स्नातकोत्तर तह उत्तीर्ण गरेको तथ्य सार्वजनिक भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौँमा छनोट गरिएका कुल ४ हजार ८ सय ७३ जना निर्वाचन प्रहरीमध्ये ६ जना स्नातकोत्तर डिग्रीधारी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँमा कार्यरत निर्वाचन प्रहरीमध्ये ३५ जनाले स्नातक तह उत्तीर्ण गरेका छन्। निर्वाचन सुरक्षामा उच्च शैक्षिक योग्यता हासिल गरेका प्रहरीको सहभागितालाई सकारात्मक रूपमा लिइएको जनाइएको छ।
नेपाल प्रहरीले देशभर निर्वाचन सुरक्षामा खटाइने प्रहरीमध्ये स्नातकोत्तर तथा स्नातक तह उत्तीर्ण जनशक्तिको विवरण संकलन गरिरहेको जनाएको छ। प्रहरी संगठनका अनुसार निर्वाचन सुरक्षालाई अझ व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन योग्य तथा प्रशिक्षित जनशक्तिको परिचालनमा विशेष जोड दिइएको हो।
हालसम्म नेपाल प्रहरीले देशभरबाट १ लाख २२ हजार ९ सय ८० जना निर्वाचन प्रहरी छनोट गरिसकेको छ। यस्तै, सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी छनोट गरेको जानकारी दिएको छ।
छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १८ गतेदेखि १० दिने तालिम प्रदान गर्न सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ। तालिममार्फत निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम गर्ने, मतदान प्रक्रिया सुरक्षित बनाउने तथा आकस्मिक अवस्थाको व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिइँदै आएको छ।