दुबई पुगेको २० दिनमै दैलेखका २६ वर्षीय युवकको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपालीको रोजगारीका लागि दुबई पुगेको २० दिनमै मृत्यु भएको छ।
त्रिवेणी एचआर सोलुसन प्रालिमार्फत असार १२ गते दुबई गएका भक्तबहादुरको असार १४ गते कम्पनीको भवनको छतबाट खसेर मृत्यु भएको भन्दै कम्पनीले परिवारलाई जानकारी दिएको थियो। कम्पनीले घटनालाई आत्महत्याको रूपमा उल्लेख गरे पनि परिवारले घटनाको वास्तविक कारणबारे निष्पक्ष छानबिनको माग गरेको छ।
भक्तबहादुर दुबईस्थित अल्टाफाडोल भवन मर्मतसम्भार कम्पनीमा लेबरका रूपमा मासिक १ हजार यूएई दिराम तलबमा दुई वर्षे सम्झौतासहित काम गर्न गएका थिए। विदेश जान उनले करिब २ लाख ५० हजार रुपैयाँ ऋण लिएर खर्च जुटाएका थिए।
परिवारका अनुसार विदेश जानुअघि उनी मानसिक रूपमा स्वस्थ थिए र परिवारको भविष्य उज्ज्वल बनाउने योजनासहित दुबई गएका थिए। तर केही दिनमै उनको निधनको खबर आएपछि परिवार शोकमा डुबेको छ।
मृतकका श्रीमती, ४ वर्षीया छोरी, २ वर्षीय छोरा तथा ६ महिनाकी गर्भवती श्रीमती छन्। वैदेशिक रोजगार बोर्डको समन्वयमा उनको शव नेपाल ल्याइएको थियो भने परिवारले शव बुझेर दैलेख लगेको छ।
परिवार र आफन्तले घटनाको वास्तविक कारण सार्वजनिक गर्दै निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।