काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले वर्तमान सरकारको आलोचना गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र जनहितका मुद्दामा सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएको छ।
पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा वक्ताहरूले बढ्दो विदेशी हस्तक्षेप र सरकारका गतिविधिप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरूले वर्तमान सरकारले “सीमा नाघेको” दाबी गर्दै त्यसको विकल्प खोज्नुपर्ने धारणा राखे।
सात घटकको संयुक्त मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा कम्युनिस्ट दलहरू सत्तामा रहँदा भएका कमजोरीका कारण देश अहिले “दक्षिणपन्थी शक्तिहरू”को प्रभावमा पुगेको आरोप लगाए। उनले विदेशी हस्तक्षेप र जनविरोधी नीतिको प्रतिरोध गर्न सबै कम्युनिस्ट शक्तिहरू एक हुनुपर्ने बताए।
कार्यक्रममा नेकपाका संयोजक लोकनारायण सुवेदीले ‘वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध प्रतिरोध आन्दोलनको सवाल र कमरेड पुष्पलाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पुष्पलालको विचार र नीतिको सान्दर्भिकता अझ बढेको दाबी गरे।
विशिष्ट अतिथि तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनता, परराष्ट्र नीति र लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान स्मरण गरे। पत्रकारको प्रश्नको जवाफ दिँदै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा संसदबाट सर्वसम्मत रूपमा पारित भएकाले त्यसलाई हटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।
वरिष्ठ अर्थविद् डा. डिल्लीराज खनालले वर्तमान सरकारले कर नीतिमार्फत जनतामाथि अनावश्यक भार थपेको आरोप लगाए। उनले नेपालको उत्पादन प्रणालीमा अपेक्षित परिवर्तन हुन नसक्दा अर्थतन्त्र परनिर्भर बन्दै गएको धारणा राखे।
वरिष्ठ अधिवक्ता डा. दण्डपाणि पौडेलले प्रस्तुत कार्यपत्रलाई समयानुकूल र सान्दर्भिक भएको बताउँदै त्यसलाई अझ परिष्कृत गरी राष्ट्रिय बहसको आधार बनाउनुपर्ने सुझाव दिए।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीशले साम्राज्यवादले शान्ति स्थापना गर्न नसक्ने र त्यसका लागि वैकल्पिक राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए।
त्यस्तै, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, नेकपा (मार्क्सवादी पुष्पलाल)का अध्यक्ष मानध्वज गुरुङ तथा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य नारायण शर्माले पनि पुष्पलालको विचारलाई व्यवहारमा लागू गर्दै कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरे।