काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा देशको नेतृत्व गर्ने जिम्मेवारीका लागि तयार रहन आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै मिश्रले हृदयेन्द्रलाई सम्बोधन गर्दै लेखेका छन्, “जन्मदिनको मंगलमय शुभकामना! ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दिन अवश्य आउनेछ।”
मिश्रले हृदयेन्द्रले अहिलेसम्म आफ्नो गरिमा र संयमता कायम राखेको उल्लेख गर्दै भविष्यमा आउन सक्ने जिम्मेवारीका लागि मानसिक, भावनात्मक र बौद्धिक रूपमा आफूलाई तयार राख्न सुझाव दिएका छन्।
उनले नेपालमा राजसंस्था पुनर्स्थापना आवश्यक रहेको आफ्नो पुरानै धारणा दोहोर्याउँदै वर्तमान राजनीतिक व्यवस्थाले देशलाई थप अस्थिरता र संकटतर्फ धकेल्न सक्ने दाबी गरेका छन्। साथै, राजसंस्थाप्रति जनसमर्थन क्रमशः बढ्दै गएको पनि उनले उल्लेख गरेका छन्।
मिश्रको यो अभिव्यक्तिलाई राजसंस्था पुनर्स्थापनाको पक्षमा राप्रपाले निरन्तर उठाउँदै आएको राजनीतिक एजेन्डाकै निरन्तरताका रूपमा हेरिएको छ।