काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका उद्योग मन्त्रालयअन्तर्गतका आठ वटा सुधार कार्यक्रम कार्यान्वयनमा मन्त्रालय सक्रिय रहेको बताएकी छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा बिहीबार आयोजित छलफलमा मन्त्री यादवले कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन्। उनका अनुसार केही कार्यक्रमको कार्यान्वयन सुरु भइसकेको छ भने बाँकी कार्यक्रम पनि क्रमशः अघि बढाइनेछ।
उनले बजेटमा घोषणा गरिएका सुधारका योजना सफल बनाउन अर्थ मन्त्रालयसँग निरन्तर समन्वय र प्राविधिक सहयोग आवश्यक रहेको बताइन्।
छलफलमा अर्थमन्त्री वाग्लेले उद्योग मन्त्रालयअन्तर्गतका कानुनी तथा नीतिगत सुधारलाई तीव्र रूपमा अघि बढाउन आग्रह गर्दै आवश्यक स्रोत, साधन र प्राविधिक सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालय तयार रहेको बताए।
चालु आर्थिक वर्षको बजेटमा कम्पनी ऐन संशोधन, दामासाहीसम्बन्धी ऐन परिमार्जन, उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माण लगायत आठ वटा प्रमुख सुधार कार्यक्रम समावेश छन्। साथै, अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको नियमित अनुगमन र सम्बन्धित मन्त्रालयसँग प्रगति समीक्षा गर्ने कार्यतालिका पनि तयार गरेको जनाएको छ।