काठमाडौंमा २४ घण्टामा १,१५१ सवारी चालक कारबाहीमा, तीव्र गति र मापसे अझै चुनौती

समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ सवारी साधन तथा चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ९ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ट्राफिक नियम उल्लंघनका घटना अझै उच्च रहेको जनाएको हो।

कार्यालयका अनुसार अन्य विभिन्न ट्राफिक कसुरमा ७३७ जना चालक कारबाहीमा परेका छन्। त्यसपछि तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८७ जना तथा लेन अनुशासन उल्लंघन गर्ने ८७ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, वन–वे उल्लंघन गर्ने ३४ जना, रातो बत्ती उल्लंघन गर्ने ३२ जना, अनावश्यक रूपमा हर्न बजाउने ३३ जना, अवस्था ठीक नभएका २१ वटा सवारी साधन तथा यान्त्रिक खराबी भएका ७ वटा सवारीमाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न नियमित निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिइएको जनाएको छ। साथै, सबै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको छ।