अमानवीयताको पराकाष्ठा: श्रीमतीको हत्या गरी सासू–ससुरालाई भिडियो कलमा अन्तिम अवस्था देखाए

अपराध

भारतको कर्नाटक राज्यस्थित बागलकोट जिल्लाको गलगली गाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। परपुरुषसँग सम्बन्ध रहेको आशंकामा २५ वर्षीया भाग्याश्री जिगलुरको उनका श्रीमान् प्रवीण जिगलुरले हत्या गरेको आरोप लागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, आइतबार साँझ भएको घटनामा प्रवीणले सुरुमा काठको मुढाले आक्रमण गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका थिए। त्यसपछि हरियो दोपट्टाको पासो लगाएर उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनालाई झनै अमानवीय बनाउँदै प्रवीणले भाग्याश्री जीवनका लागि संघर्ष गरिरहेकै बेला उनका आमाबुवालाई भिडियो कल गरी छोरीको अन्तिम अवस्था प्रत्यक्ष देखाएको प्रहरीले जनाएको छ। उनले उक्त भिडियो आफ्ना केही साथीभाइ र आफन्तलाई समेत पठाएको बताइएको छ।

प्रहरीका अनुसार, भाग्याश्री लगातारको पारिवारिक विवादपछि दुई महिनाअघि माइत गएकी थिइन्। पछि प्रवीणले अबदेखि मिलेर बस्ने र झगडा नगर्ने आश्वासन दिएपछि उनी घर फर्किएकी थिइन्। तर, घर फर्किएकै साँझ उनको हत्या भएको आरोप छ।

घटनाको जानकारी पाएपछि बिलागी प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपी प्रवीणलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।