रौतहटमा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई पक्राउ

राजनीति

रौतहट, साउन १४ — रौतहटको गढीमाई नगरपालिका–७ स्थित एक मठ–मन्दिर नजिक जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिका–३ का २० वर्षीय शेख इवरान र १९ वर्षीय इर्फान अन्सारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार साउन १३ गते राति करिब ९ बजे सांसद पौडेल जनताका गुनासा सुनिरहेका बेला केही व्यक्तिहरू त्यहाँ पुगेका थिए। उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद’, ‘फिर्ता होऊ नेपाली माननीय’, ‘नेपाली उपनिवेश अन्त्य होस्’ तथा ‘झापादेखि कञ्चनपुरसम्मको मधेस स्वतन्त्र हो’ लगायतका नारा लेखिएका पर्चा छरेपछि सांसद पौडेलमाथि अभद्र तथा अमानवीय व्यवहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनामाथि अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाएको छ।