धनुषाको मन्दिरमा भेटिएको शव धार्मिक विवादसँग सम्बन्धित होइन : प्रहरी
धनुषाको सबैला नगरपालिका–१२, नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत फेला परेको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ।
मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरीको शव मन्दिर परिसरमा फेला परेको थियो। प्रहरीका अनुसार उनी मन्दिरका पुजारी नभई बाहिर काम गर्ने र राति मन्दिरमै सुत्ने व्यक्ति थिए।
घटनाको जानकारी पाएलगत्तै कुकुरसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना आपराधिक मनसायबाट भएको देखिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले घटनालाई धार्मिक विवादसँग जोडेर अफवाह नफैलाउन आग्रह गरेका छन्।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने जनाएको छ।