काठमाडौं — कुवेतको उत्तरी क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ।
मृतक तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ हुन्। उनी कुवेतमा सवारी चालक (ड्राइभर) का रूपमा कार्यरत रहेका थिए।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त ड्रोन आक्रमणमा तामाङको ज्यान गएको हो। घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले राजदूतावासलाई आधिकारिक रूपमा जानकारी गराएको जनाएको छ।
राजदूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउने तयारी भइरहेको उल्लेख गर्दै यसका लागि सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य भइरहेको जनाएको छ।
यसैबीच, कुवेतमा विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशिका र मापदण्डहरूको पूर्ण पालना गर्न, अनावश्यक आवतजावत नगर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।