काठमाडौं, साउन १८ — ‘निम्स दाइ’का नामले विश्वभर परिचित कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ।
अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाको असामयिक निधनले गाउँपालिका मात्र नभई समग्र म्याग्दी र नेपाली पर्वतारोहण क्षेत्र शोकमा डुबेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष भरतकुमार पुनले आइतबार जारी गरेको सूचनाअनुसार सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द रहनेछन्।
गाउँपालिकाले पुर्जाले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरेको छ। साहस, नेतृत्व, समर्पण र अदम्य आत्मविश्वासका प्रतीकका रूपमा स्थापित ‘निम्स दाइ’ले नेपाली पर्वतारोहीहरूको गौरव विश्वमाझ उचाइमा पुर्याएको भन्दै उहाँको योगदान सधैं स्मरणीय रहने गाउँपालिकाको भनाइ छ।
सूचनामा निर्मल पुर्जाको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
निर्मल पुर्जाको असामयिक निधनले नेपाली पर्वतारोहण इतिहासमा अपूरणीय क्षति पुगेको छ। उहाँले स्थापित गरेका कीर्तिमान, साहसिक अभियान र नेपाली पहिचानलाई विश्वमाझ पुर्याएको योगदानले भावी पुस्तालाई निरन्तर प्रेरित गरिरहने विश्वास व्यक्त गरिएको छ।