
काठमाडौं । मिटर ब्याजको मारमा परेको दाबी गर्दै सर्लाहीको बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतो विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेर न्यायको माग गरिरहेका छन्।
महतो दम्पतीका अनुसार २०७२ सालमा घरायसी खर्चका लागि छिमेकीबाट डेढ लाख रुपैयाँ ऋण लिएको भए पनि पछि वास्तविक रकमभन्दा धेरैको तमसुक बनाइयो। उनीहरूको दाबी अनुसार ऋणको नाममा हालसम्म ६०–६५ लाख रुपैयाँ बुझाइसक्दा पनि ऋणबाट मुक्त हुन नसकेको र अन्ततः आफ्नो जग्गासमेत गुमाउनुपरेको छ।
भागनारायण महतोले आफूहरू अशिक्षित भएकै कारण कागजातको विषयमा राम्रोसँग बुझ्न नसकेको र त्यसैको फाइदा उठाएर ठगी गरिएको आरोप लगाए। उनले ऋण लिएको चार दिनमै १० लाख रुपैयाँको तमसुक तयार गरिएको र त्यसकै आधारमा सम्पत्ति गुमाउनुपरेको बताए।
महतो दम्पतीले जग्गा हस्तान्तरण प्रक्रिया, ऋण कारोबार तथा त्यसमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले आफ्नो सम्पत्ति फिर्ता गरिनुपर्ने पनि माग गरेका छन्।
पीडित दम्पतीका अनुसार स्थानीय तहदेखि केन्द्र सरकारसम्म पटक–पटक गुहार्दा पनि समस्या समाधान हुन सकेको छैन। केही समयअघि गृहमन्त्री सुदन गुरुङले माइतीघर पुगेर घटनाबारे अनुसन्धान गर्ने आश्वासन दिए पनि अहिलेसम्म ठोस प्रगति नभएको उनीहरूको गुनासो छ।
महतोले आर्थिक संकटका कारण आफ्ना छोराछोरीको पढाइसमेत प्रभावित भएको र परिवारको भविष्य अन्योलमा परेको बताए। उनले मिटर ब्याजको समस्या आफ्नो परिवारमा मात्र सीमित नभई देशभरका धेरै नागरिकले भोगिरहेको उल्लेख गर्दै गैरकानुनी ब्याज असुली नियन्त्रण, ऋण कारोबार पारदर्शी बनाउने व्यवस्था र पीडितका उजुरीको छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
महतो दम्पतीले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना जारी राख्ने बताएका छन्।