‘मनमनै मन्त्रालय’ साउन २४ गते नेपाल नाट्यशालामा मञ्चन हुने

मनोरञ्जन

काठमाडौं, साउन २० — समकालीन सामाजिक यथार्थ र मानवीय मनोविज्ञानलाई केन्द्रमा राखेर तयार पारिएको विसङ्गतिवादी सामाजिक नाटक ‘मनमनै मन्त्रालय’ आगामी साउन २४ गते (आइतबार) काठमाडौंस्थित नेपाल नाट्यशालामा मञ्चन हुने भएको छ। नेपाल थिएटर हाउसर नेपाल मातृगृह नेपालको संयुक्त प्रस्तुतिमा नाटक दिउँसो १:०० बजे प्रदर्शन गरिनेछ।

वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्य सिंह राईको लेखन रहेको नाटकले एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद र सामाजिक अन्यायजस्ता समकालीन विषयलाई रूपकात्मक शैलीमा प्रस्तुत गरेको छ।

नाटकमा प्रधानमन्त्री पात्रको प्रवेशसँगै व्यक्तिगत संघर्ष राजनीतिक उत्तरदायित्व, नैतिक चेतना र सामूहिक विवेकसँग जोडिँदै समाज र व्यक्तिबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाइएको छ। सहानुभूति, आत्मचेतना र मानवीय सम्बन्धको महत्वलाई उजागर गर्दै साँचो परिवर्तनको सुरुआत मानिसको मनबाट हुने सन्देश नाटकले प्रवाह गर्छ। अन्त्यमा समाज र मानव चेतनाको रूपान्तरणबारे दार्शनिक प्रश्न प्रस्तुत गर्दै कथा टुंग्याइएको छ।

नाटकमा प्रवीण पुमा, जे.बी. डी.सी., सौभाग्य सिंह राई, रिता थापा, दिपमाला परियार, सानु पाण्डे, कविता खड्का, निर्मल साउद, आयन थापा, तृप्ती श्रेष्ठ, खुशी तामाङ, महेन्द्र थापालगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ। ब्याकस्टेज टोलीमा सम्झना श्रेष्ठ, सुस्मा बोम्जन, अञ्जु बराल, नवीन महरा, जोगा धामी र मुकेश महरा रहेका छन्।

नाटकको लेखन तथा कला निर्देशन सौभाग्य एस. राई (शोभा)ले गर्नुभएको हो। उहाँले आवरण (कभर), वेशभूषा, प्रप, ध्वनि डिजाइन तथा व्यवस्थापनको जिम्मेवारी पनि सम्हाल्नुभएको छ। सेट डिजाइन प्रवीण पुमा, प्रकाश डिजाइन परशुराम राई, प्रकाश सञ्चालन अजय घलान, ध्वनि सञ्चालन सुदीप रौन्टेल तथा पात्र छनोट निर्देशन जे.बी. डी.सी.ले गर्नुभएको छ।

करिब एक घण्टा अवधिको यस नाटकको प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ। नाटकका मिडिया साझेदार ITV र NepaliLiterature.com रहेका छन्।