अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने क्रममा इरानबाट आएको सम्भावित ह त्या धम्कीका कारण अत्यन्त गोप्य सुरक्षा अपरेसनअन्तर्गत विमान परिवर्तन गरेको खुलासा भएको छ।
Reuters र The Washington Post का अनुसार, ट्रम्पले टर्कीको अंकारामा पुरानो ‘एयर फोर्स वन’ मा सार्वजनिक रूपमा चढेपछि केही समयमै गोप्य रूपमा विमानबाट बाहिरिएका थिए। त्यसपछि उनलाई विमानस्थलमा खाना तथा अन्य सामग्री ओसार्ने क्याटरिङ ट्रकमार्फत अर्को स्थानमा लगेर अमेरिकी वायुसेनाको सानो C-32A विमानमा चढाइएको थियो।
यसबीच पुरानो ‘एयर फोर्स वन’ लाई नै ट्रम्प सवार विमान भएको देखाएर बेलायततर्फ पठाइएको बताइएको छ। यसरी सञ्चारमाध्यम र ह्वाइट हाउसका केही कर्मचारीसमेत ट्रम्प वास्तविक रूपमा कुन विमानमा छन् भन्नेबारे अनभिज्ञ राखिएको रिपोर्टमा उल्लेख छ।
यो गोप्य योजना ट्रम्पमाथि रहेको विश्वसनीय इरानी ह त्या धम्कीका कारण अघि बढाइएको बताइएको छ। ह्वाइट हाउसले राष्ट्रपतिको सुरक्षाका लागि यस्तो सुरक्षा उपाय अपनाइएको पुष्टि गरे पनि अपरेसनका विस्तृत पक्षबारे अमेरिकी रक्षा मन्त्रालयले तत्काल टिप्पणी गरेको छैन।