काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने तथा विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्री ले सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिनेछन्।
यस्तै, प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्नेछिन्।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
कानुनमन्त्री गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
यस्तै, संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता समेत सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा प्रश्नोत्तरदेखि महत्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय सम्झौतासम्मका विषयमा छलफल हुने भएकाले प्रतिनिधिसभाको कार्यसूचीलाई चासोका साथ हेरिएको छ।