उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

समाचार

काठमाडौं — प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्।

ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन्। यद्यपि, जाहेरीमा कुन कसुर उल्लेख गरिएको छ भन्ने प्रहरीले सार्वजनिक गरेको छैन।

जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशित गरिएको भन्दै ठाकुरले यसअघि प्रेस काउन्सिल नेपालमा समेत उजुरी गरेकी थिइन्।

यसैबीच, सर्वोच्च अदालतको सोमबारको आदेशपछि श्रेष्ठ हाजिर जमानीमा रिहा भएका थिए। सर्वोच्चले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो।