काठमाडौँ । जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको सिस्ने इनर्जी प्रा.लि.ले ५ लाख कित्ता संस्थापक शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ५ करोड रुपैयाँ बराबरको संस्थापक शेयर निष्कासन गर्न अनुमति माग्दै सम्बन्धित निकायमा आवेदन दिएको हो।
कम्पनीले गत साउन ३० गते शेयर निष्कासनसम्बन्धी निर्णयसहित अनुमति माग्दै आवेदन पेश गरेको जनाएको छ। हाल उक्त आवेदन अध्ययन तथा स्वीकृतिको प्रक्रियामा रहेको छ।
कम्पनीका अनुसार शेयर निष्कासनबाट जुट्ने पुँजी जलविद्युत उत्पादन क्षमता विस्तार, व्यवसाय विस्तार तथा कम्पनीको वित्तीय आधार थप मजबुत बनाउन उपयोग गर्ने योजना छ।
सम्बन्धित निकायबाट अनुमति प्राप्त भएपछि मात्रै संस्थापक शेयर निष्कासनको मिति, आवेदन प्रक्रिया तथा अन्य विवरण सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
अनुमति प्राप्त भएलगत्तै संस्थापक लगानीकर्तालाई लक्षित गर्दै शेयर आह्वानपत्र सार्वजनिक गरिने बताइएको छ।