- निमा पोङ्स्युवा
काठमाडौ । पवित्र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बरुण र छुजुङ खोलामा जलविद्युत् आयोजना निर्माण गर्ने प्रयासप्रति स्थानीयवासी तथा सरोकारवालाले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै बरुण–छुजुङ क्षेत्रमा जलविद्युत् परियोजना निर्माण रोक्न राज्य सरकारसँग माग गरेका छन्।
काठमाडौमा सोमबार पत्रकार सम्मेलन गर्दै च्यामताङ–काठमाडौं कल्याण समाजले सार्वजनिक गरेको ध्यानाकर्षण तथा अपिलमार्फत बरुण नदी क्षेत्र स्थानीय समुदायको धार्मिक आस्था, परम्परा, प्राकृतिक सम्पदा र जैविक विविधतासँग प्रत्यक्ष जोडिएको पवित्र क्षेत्र भएको उल्लेख गर्दै त्यहाँ जलविद्युत् आयोजना निर्माण गर्ने कार्यले धार्मिक तथा सांस्कृतिक सम्पदामा गम्भीर असर पार्ने दाबी गरेको छ।
समाजका अनुसार बरुण नदीलाई स्थानीय समुदायले प्राचीनकालदेखि नै पवित्र नदीका रूपमा मान्दै आएका छन्। बरुण क्षेत्रमा विभिन्न धार्मिक संस्कार, स्नान, पूजा तथा अन्य सांस्कृतिक गतिविधि हुँदै आएको उल्लेख गर्दै नदीको प्राकृतिक स्वरूप र धार्मिक महत्वमा असर पर्ने कुनै पनि गतिविधि नगर्न राज्यसँग आग्रह गरिएको छ।
स्थानीयको भनाइमा बरुण क्षेत्र केवल जलस्रोत मात्र नभई धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण भू–भाग हो। बरुण नदीसँग जोडिएका धार्मिक विश्वास तथा स्थानीय परम्परालाई बेवास्ता गरी विद्युत् उत्पादनका लागि संरचना निर्माण गर्दा त्यसले स्थानीय समुदायको आस्था र मौलिक संस्कृतिमाथि प्रत्यक्ष असर पार्न सक्ने उनीहरूको तर्क छ।
ध्यानाकर्षणपत्रमा भोटखोला गाउँपालिकाले समेत बरुण नदीमा विद्युत् उत्पादनसम्बन्धी गतिविधि गर्न नहुने निर्णय गरेको उल्लेख गरिएको छ। गाउँपालिकाले सम्बन्धित आयोजना प्रवर्द्धकलाई त्यस्ता गतिविधि नगर्न आग्रहसहित जानकारी गराएको दाबी स्थानीय पक्षको छ।
त्यस्तै, मकालु–बरुण राष्ट्रिय निकुञ्जले पनि निकुञ्ज क्षेत्रभित्र कानुनविपरीत हुने कुनै पनि निर्माणसम्बन्धी गतिविधि गर्न नहुने विषयमा पटक–पटक प्रतिवेदन तथा जानकारी गराएको उल्लेख गरिएको छ। संखुवासभामा क्रियाशील राजनीतिक दलहरूको संयुक्त बैठकले समेत बरुण नदीमा कुनै पनि विद्युत् परियोजना निर्माण गर्न नहुने निष्कर्षसहित निर्णय गरेको दाबी गरिएको छ।
स्थानीय सरोकारवालाले बरुण क्षेत्रको धार्मिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत संरक्षण गर्नुपर्ने विषय रहेको बताएका छन्। बरुण क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य तथा स्थानीय समुदायको धार्मिक विश्वाससँग जोडिएको भन्दै विकासका नाममा संवेदनशील क्षेत्रमा हुने गतिविधिबारे राज्यले गम्भीर समीक्षा गर्नुपर्ने उनीहरूको माग छ।
उनीहरूले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, सम्बन्धित प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय मानव अधिकार आयोग तथा आदिवासी जनजातिसम्बन्धी निकायलगायत सरोकारवाला निकायलाई यस विषयमा तत्काल ध्यान दिन आग्रह गरेका छन्।
स्थानीय तथा सरोकारवालाले बरुण र छुजुङ खोलाको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व संरक्षणका लागि सरकारलाई निर्णय पुनरावलोकन गर्न र जलविद्युत् आयोजना निर्माणसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गरेका छन्।
स्थानीयको प्रश्न छ—धार्मिक आस्था, प्राकृतिक सम्पदा र जैविक विविधतासँग जोडिएको बरुण क्षेत्रलाई संरक्षण गर्ने कि विकासका नाममा संवेदनशील क्षेत्रमा जलविद्युत् आयोजना अघि बढाउने? यही प्रश्नमार्फत उनीहरूले राज्य सरकारलाई मिडियामार्फत समेत गम्भीर रूपमा झकझकाएका छन्।