काठमाडौं — चीनको लोकप्रिय भिडियो–सेयरिङ प्लेटफर्म Bilibili ले विश्व बजारमा आफ्नो उपस्थितिलाई तीव्र बनाउँदै अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि नयाँ कदम अघि बढाएको छ। कम्पनीले १९ अगस्ट २०२६ मा अन्तर्राष्ट्रिय बजार लक्षित आफ्नो नयाँ एप सार्वजनिक गरेको घोषणा गरेको हो।
हाल अन्तर्राष्ट्रिय संस्करणको एप Android मा उपलब्ध छ भने iOS संस्करण पनि चाँडै आउने बताइएको छ। अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि साइन–अप प्रक्रिया सहज बनाइएको छ र पहिलेको जस्तो परिचयपत्र वा पासपोर्ट प्रमाणीकरणको आवश्यकता हटाइएको रिपोर्टहरूमा उल्लेख छ।
Bilibili ले अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि स्थानीयकरण सुधार, विभिन्न भाषाका सामग्रीमा पहुँच र विश्वभरका सिर्जनाकर्तालाई प्लेटफर्ममा जोड्ने रणनीति अघि बढाएको छ। कम्पनीले अंग्रेजी भाषाको वेबसाइट विकास गरिरहेको र अमेरिका, जापान, युरोपलगायतका बजारमा कर्मचारी तथा कम्युनिटी व्यवस्थापन विस्तार गर्ने तयारी गरिरहेको पनि रिपोर्ट गरिएको छ।
२००९ मा स्थापना भएको प्लेटफर्म
Bilibili भने अहिले मात्रै बनेको नयाँ प्लेटफर्म होइन। यसको सुरुवात २००९ मा भएको थियो। प्रारम्भमा यो एनिमे, गेमिङ र युवा संस्कृतिसँग सम्बन्धित सामग्रीमा केन्द्रित थियो। समयसँगै यसको सामग्री विस्तार हुँदै अहिले चीनको प्रमुख भिडियो प्लेटफर्ममध्ये एक बनेको छ।
कम्पनीले आफ्नो चिनियाँ प्लेटफर्ममा ३७६ मिलियन मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाएको छ। अब अन्तर्राष्ट्रिय बजारमा विस्तारसँगै Bilibili ले विश्वभरका दर्शक र सिर्जनाकर्तालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।