काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता तथा प्रभावित नागरिकको खोजी र उद्धारलाई तीव्र पारिएको छ।
खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। स्थानीय बासिन्दाले पनि उद्धारमा सहयोग गरिरहेका छन्।
बाढीबाट प्रभावित नदी किनार र आसपासका क्षेत्रमा ड्रोन प्रयोग गरेर थुनिएका तथा हराइरहेका मानिसको खोजी भइरहेको छ। ड्रोनमार्फत बाढीले पुर्याएको क्षतिको अवस्थासमेत बुझ्ने प्रयास भइरहेको छ।
त्यस्तै, सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुरसहितको खोजी टोली रसुवागढी भन्सार यार्डलगायतका क्षेत्रमा परिचालन गरेको छ। बाढी र पहिरोमा पुरिएका मानिसको सम्भावित स्थान पत्ता लगाउन कुकुरको प्रयोग गरिएको हो।
उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टरमा मेडिकल टोलीसमेत पठाइएको छ भने निजी हेलिकप्टरलाई पनि उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
भोटेकोशीमा आएको अचानक बाढीले टिमुरे, स्याफ्रुबेँसी र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही ठाउँमा सम्पर्कसमेत विच्छेद भएकाले क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन।
अधिकारीहरूले बाढीको जोखिम रहेका नदी किनारका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा जान र नदी आसपास नजान आग्रह गरेका छन्।