काठमाडौं । साउदी अरबको शैबाह तेल खानीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको शैबाह तेल खानी क्षेत्रमा ड्रोन आक्रमणको प्रयास भएको थियो। हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई रोकेपछि त्यसका अवशेष खस्दा ठेकेदारको सवारीसाधनमा आगलागी भएको र त्यसमा परी दुई जनाको मृत्यु भएको जनाइएको छ।
मृत्यु हुनेमा नेपाली र फिलिपिन्सका एक–एक जना नागरिक रहेको बताइएको छ। घटनामा घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्।
प्राप्त विवरणअनुसार, घटनाका बाबजुद तेल खानीको सञ्चालनमा असर परेको छैन। यद्यपि, मृतक नेपालीको नाम, स्थायी ठेगाना र उनी कार्यरत कम्पनीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।
वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीको मृत्युको खबरले सम्बन्धित परिवार र नेपाली समुदायमा शोक थपिएको छ।