सलमान खानलाई मन्दिरमा आएर माफी माग्न बिश्नोई समुदायका नेताको आग्रह

मनोरञ्जन विश्व


मुम्बई।बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनापछि अभिनेता सलमान खान र बिश्नोई समुदायबीचको पुरानो विवाद पुनः चर्चामा आएको छ।

जोधपुरका बिश्नोई समुदायसँग सम्बन्धित नेता देवेन्द्र बुडियाले सलमान खानलाई मन्दिरमा आएर समुदायसँग माफी माग्न आग्रह गरेका छन्। भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै उनले माफी माग्दैमा कसैको प्रतिष्ठा घट्ने नभई संवादमार्फत विवाद समाधानको बाटो खुल्न सक्ने बताएका छन्।

बुडियाका अनुसार, उनले यसअघि पनि सलमान खानलाई विवाद समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। उनले अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको विवाद अन्त्य गर्न आफूले मध्यस्थताको प्रयास गरेको पनि बताएका छन्।

सन् १९९८ मा भएको कालो हरिण सिकार प्रकरणलाई लिएर सलमान खान र बिश्नोई समुदायबीच लामो समयदेखि विवाद रहँदै आएको छ। बिश्नोई समुदायले कालो हरिणलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व दिने गरेको छ।

यसैबीच, मुम्बईको जुहू क्षेत्रमा टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा टाइगर श्रफ सुरक्षित रहे पनि उनका चालक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्