रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन बन्द, ठूला जलविद्युत् आयोजनामा क्षति

समाचार

काठमाडौं — रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लामा सञ्चालनमा रहेका पाँच जलविद्युत् आयोजनाबाट हुने करिब २३६ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवागढी, चिलिमे, सान्जेन, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनालाई प्रभावित गरेको हो। बाढीले केही आयोजनाका बाँधस्थल, विद्युत्गृह र अन्य संरचनामा क्षति पुर्‍याएपछि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति रोकिएको छ।

बाढीबाट निर्माणाधीन ठूला आयोजनासमेत प्रभावित भएका छन्। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १२० मेगावाटको रसुवा–भोटेकोशी६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए आयोजनाका संरचना तथा पहुँचमार्गमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

यसअनुसार सञ्चालनमा रहेका र निर्माणाधीन गरी रसुवाका ८ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनाको कुल क्षमता ५७८.४२ मेगावाट रहेको छ।

बाढीका कारण आयोजनास्थलसम्म पुग्ने सडक र पुलमा समेत क्षति पुगेकाले प्राविधिक टोलीलाई स्थलगत निरीक्षण गर्न कठिनाइ भएको बताइएको छ।

बाढीको पानी घटेपछि मात्रै आयोजनामा भएको वास्तविक भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण आउने अधिकारीहरूले बताएका छन्। त्यसपछि क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण अघि बढाइनेछ।