काठमाडौं, भदौ २२ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ।
भदौ १० गते आएको भीषण बाढीको घटनाको १३औँ दिन पारेर मन्त्रिपरिषद्को निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
सरकारले आज सार्वजनिक बिदा भने दिएको छैन। राष्ट्रिय शोकमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्ने जनाएको छ।
📍 पछिल्लो विवरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा १ हजार ३४२ जनाको शव फेला परेको, करिब ४ हजार ९९६ जना अझै सम्पर्कविहीन रहेको र ६ हजार ८३ जना घाइते भएका छन्। हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको विवरण सार्वजनिक भएको छ।
फेला परेका शवको पहिचान तथा व्यवस्थापनको काम जारी छ। सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलनलगायतका प्रक्रिया पनि अघि बढाइएको छ।