काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री विमला राई पौड्यालसहितको टोलीले रसुवाको कालिका गाउँपालिका–१ पुगेर बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित १६६ परिवारलाई टोलीले खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको हो । प्रत्येक परिवारलाई एक बोरा चामल, मुसुरोको दाल, नुन, तेल, चिनी, चिउरालगायतका सामग्री वितरण गरिएको जनाइएको छ ।
राहत वितरणका लागि डब्लुएचएच, आरआरएनलगायतका संस्थाले सहयोग गरेका थिए । बाढीपछि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको टोलीले जनाएको छ ।
राहत वितरणका क्रममा डा. कार्कीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई अझ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपद्पछिको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत सहयोग जुटाउन आवश्यक रहेको भन्दै सहयोगको आह्वान गरेका छन् ।
भदौ १० गते आएको बाढीपहिरोले रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो । विपद्बाट हजारौँ परिवार प्रभावित भएका छन् भने सडक तथा हवाई मार्गमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न र गैरखाद्य सामग्री पुर्याउने कार्य जारी रहेको जनाइएको छ ।
सरकारी विवरणअनुसार विपद्बाट ७ हजार ५७० भवनमा क्षति पुगेको तथा ८ हजार ३१७ परिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको बताइएको छ ।
विपद्पछिको अवस्थामा प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत सरकार तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।