रुकुम पश्चिममा जिप दुर्घटना : २ जनाको मृत्यु, गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर माग

समाचार

रुकुम पश्चिम — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप देउताखोलामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो । दुर्घटना बिहान करिब ८ बजेतिर भएको थियो ।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका करिब ३३ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की करिब १५–१६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकोप्टर माग गरिएको छ । सानीभेरी गाउँपालिकाले समेत घाइतेको तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमार्फत हेलिकोप्टर उपलब्ध गराउन पहल गरेको जनाएको छ ।

अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा जिपमा सवार यात्रुको संख्या तथा सबै घाइतेको विस्तृत पहिचान खुलाउने काम प्रहरीले जारी राखेको जनाएको छ ।