काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहान ९ बजेसम्म कोषमा रु १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ मौज्दात रहेको छ।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेदेखि शनिबार बिहान ९ बजेसम्म मात्रै कोषमा रु २८ करोड २० लाख १४ हजार ३६६ थप रकम जम्मा भएको छ। उक्त रकम कोषका विभिन्न नौवटा बैंकमा रहेका खातामा जम्मा भएको हो।
सरकारले यसअघि बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोषबाट रु १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत निकासा गरिसकेको छ।
यसैबीच, कोषका अमेरिकी डलर खातामा पनि सहयोग थपिने क्रम जारी छ। कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेपछि डलर खातामा १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएको छ।
यससँगै कोषका दुईवटा बैंकमा रहेका डलर खातामा कुल मौज्दात २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
विपद् प्रभावितका लागि राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको कोषमा पछिल्लो समय विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम बढेको छ।