काठमाडौं — मध्यपूर्वमा इरानी मिसाइल तथा ड्रोन आक्रमणपछि साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी सैन्य आधार शिविरमा भएको क्षतिको नयाँ विवरण तथा तस्बिर सार्वजनिक भएका छन्।
अमेरिकी सञ्चारमाध्यम CBS News ले प्राप्त गरेको तस्बिरअनुसार साउदी अरेबियास्थित प्रिन्स सुल्तान एयर बेस मा रहेको अमेरिकी Boeing E-3 Sentry विमानमा आक्रमणबाट गम्भीर क्षति पुगेको देखिएको छ। विमानको पछाडिको भाग तथा राडार प्रणालीमा क्षति पुगेको रिपोर्टमा उल्लेख छ।
त्यस्तै, कुवेतस्थित क्याम्प बुहरिङ र क्याम्प अरिफजान मा रहेका भवन, ब्यारेक, सवारीसाधन तथा अन्य सैन्य संरचनामा समेत क्षति पुगेको तस्बिरहरूमा देखिन्छ।
CBS News का अनुसार केही तस्बिर अमेरिकी सेनामा कार्यरत सैनिकहरूले आफ्नो पहिचान गोप्य राख्ने सर्तमा उपलब्ध गराएका हुन्। उनीहरूमध्ये एक सैनिकले अमेरिकी सैन्य बेसमा भएको क्षतिको विषयमा पर्याप्त जानकारी सार्वजनिक नगरिएको दाबी गरेका छन्।
यद्यपि, सार्वजनिक भएका तस्बिरहरूले क्षतिको दृश्य प्रमाण प्रस्तुत गरे पनि त्यसबाट सबै सैन्य क्षतिको पूर्ण परिमाण वा समग्र रणनीतिक प्रभावबारे निष्कर्ष निकाल्न भने सकिँदैन।