जसपा नेपालको घोषणा : असोज ३ मा ‘विरोध दिवस’

राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान जारी भएको दिन असोज ३ गतेलाई ‘विरोध दिवस’का रूपमा मनाउने घोषणा गरेको छ।

संविधानका मूलभूत विषयवस्तु, त्यसमा रहेका विभेद तथा संविधान संशोधनको आवश्यकताबारे देशभर बहस, अन्तरक्रिया र विचार गोष्ठी आयोजना गर्ने पार्टीले जनाएको छ।

जसपा नेपालका नेता पूर्ण बस्नेतका अनुसार असोज ३ गते सबै जिल्ला समितिलाई आ–आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ।

पार्टीले संविधानमा नेपाली जनतामा सार्वभौमसत्ता र राजकीय सत्ता निहित रहनेलगायत महत्वपूर्ण उपलब्धि समेटिए पनि अन्तरिम संविधानमा सहमति भइसकेका केही विषयलाई बहुमत–अल्पमतका आधारमा उल्टाइएको दाबी गरेको छ।

संविधानका धेरै सकारात्मक पक्ष भए पनि अझै विभेद कायम रहेको जसपा नेपालको निष्कर्ष छ। त्यसैले संविधानको संशोधन तथा परिमार्जन अपरिहार्य रहेको पार्टीले बताएको छ।

असोज ३ गते आयोजना हुने कार्यक्रममार्फत संविधानका विद्यमान प्रावधान, संशोधन गर्नुपर्ने विषय तथा पार्टीको राजनीतिक धारणा जनस्तरसम्म पुर्‍याउने जसपा नेपालको तयारी छ।

नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो। सोही दिनलाई सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ।